काठमाडौं, पुस १५ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले निर्वाचनको विश्वसनीय वातावरण निर्माण गर्न नसकेको बताउनुभएकाे छ ।
रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा ‘देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिमा नेकपा (एमाले) को नीति र रिटर्नीको भूमिका’ विषयमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाैडेलले लोकतान्त्रिक प्रणालीमा दलहरूको विकल्प दलहरू नै हुने उल्लेख गर्दै राजनीतिक दललाई निषेध गरेर निर्वाचन सम्भव नहुने स्पष्ट पार्नुभयो। पौडेलले विदेशबाट फर्किएका नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई एकीकृत गरेर राष्ट्रिय विकासमा लगाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
उहाँले रिटर्नी फेडेरेसनले नवयुग इन्भेस्टमेन्टजस्ता कम्पनी स्थापना गरी सातै प्रदेशमा उदाहरणीय काम गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो। सही नीति र सक्षम नेतृत्व भए मात्र देश समृद्ध बन्न सक्ने धारणा राख्दै उहाँले कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालको वेबसाइटको औपचारिक शुभारम्भ पनि गर्नुभयो।
कार्यक्रममा फेडेरेसनका निवर्तमान इन्चार्ज डा. कृष्णबहादुर केसीले रिटर्नीहरू ठोस कार्यक्रमसहित पार्टीमा सक्रिय रूपमा सहभागी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हार–जीतको मानसिकताभन्दा माथि उठेर पार्टी एकता र संगठन सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो। संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डा. केसीलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले विषयगत प्रस्तुति राख्दै छोटो समयमै रिटर्नी फेडेरेसनले पार्टीभित्र आफ्नो पहिचान निर्माण गर्न सफल भएको बताउनुभयो। राजनीतिक स्थायित्व विना देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै उहाँले पाँच वर्षे स्थायी सरकारले मात्र विकास निर्माणको स्पष्ट खाका कोर्न सक्ने धारणा राख्नुभयो।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य संजय थापाले आफूलाई चित्त नबुझेका विषय सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्नुभयो।
कार्यक्रममा रिटर्नी फेडेरेसनका उपाध्यक्ष जितेन्द्र बानियाँले पार्टीको नीति तथा फेडेरेसनको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्