काठमाडौँ, पुस १८ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ । उहाँले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवास बोलाउनुभएको हो ।
कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन गइरहेको छलफल पुष्टि गरेको छ । ‘कार्यवाहक सभापति अहिले निवासमै भेटघाटमा हुनुहुन्छ, केहीबेरपछि सभापतिज्यूसँग भेटघाटका लागि जाने तयारी छ’, स्रोतले भन्याे ।
केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्का नेताको सचिवालयले पनि सभापति देउवाले नेताहरूलाई छलफलका लागि बोलाएको पुष्टि गरेको छ ।
स्रोतका अनुसार बैठक बिहान ९ बजेपछि बोलाइएको हो । कांग्रेसले आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गर्नुभएको छ ।
उहारूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गर्नुभएको छ। विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्