जनता टाइम्स

१८ पुष २०८२, शुक्रबार २०:०९

रवि, बालेन र कुलमानबीचको एकता अदृश्य शक्तिले जबरजस्ती गराएको : प्रचण्ड


काठमाडौं, पुस १८  ।   नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको एकतालाई सङ्केत गर्दै अदृश्य शक्तिले मिलाएको आशंका ब्यक्त गर्नुभएको छ ।

सङ्खुवासभामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले अदृश्य शक्तिले जबरजस्ती अपहरण शैलीमा लगेर एकता गराइदिएको आफूले टेलिभिजनमा सुनेको बताउनुभयो।

उहाँले आफ्नो पार्टीमा अहिलेसम्म १७ दल औपचारिक रूपमा मिलिसकेको जिकिर गर्नुभयो ।  ‘हामीले आआफ्नो विवेक प्रयोग गरेर आआफ्नो विचार प्रयोग गरेर, आफ्नो एजेन्डासँग सहमत हुनेहरूलाई स्वेच्छापूर्वक यो राष्ट्र जोगाउने संकल्पसहित जनता जोगाउने नयाँ सङ्कल्प सहित, आफै परिवर्तित हुने सङ्कल्प सहित यो एकतामा छौँ, तपाईँहरूले देखिराख्नु भएको छ’, उहाँले भन्नुभयो, ‘अर्को एउटा प्रवृत्ति र शक्ति पनि छ, जसले पनि एकताको कुरा गरिराखेको छ,आज बिहान मात्रै तपाईँहरूले हेर्न पाउनुभयो कि भएन थाहा छैन, मैले एउटा टिभी कार्यक्रममा हेर्दै थिएँ अर्को पनि एउटा एकता छ, जसलाई अदृश्य शक्तिले जबरजस्ती एकता गराउन खोजेको छ, त्यहाँ भनिएको छ एउटा नेतालाई उसको डेराबाट झन्डै अपहरणको शैलीमा ल्याएर एकता गर्ने हो कि लगाइदिऊँ मुद्दा ? सिध्याइदिउँ ? भनेर एकता ऊराइएकाे छ ।’