दोलखा, पुस २० । नेकपा एमाले दोलखाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङलाई एकल उम्मेद्वार सिफारिश गरेको छ ।
शनिवार सुरु भई आज सम्पन्न जिल्ला कमिटी बैठकले पार्टी नेता–कार्यकर्ताहरूको भावना, भूगोलको चाहनाअनुसार गुरुङलाई एकल उम्मेद्वार बनाउने निर्णय लिएको अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठले हालसम्मको छलफल जिल्लाका सबै पालिकाको नेता कार्यकर्ताको भावनाअनुसार गुरुङलाई एकल उम्मेद्वार सिफारिश गर्ने गरी बैठकमा प्रस्ताव राख्नुभएको थियो ।
सो विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिश गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘जिल्ला कमिटीका दुई तिहाईभन्दा बढी कमरेडहरूले चुनाव जिताउन पार्वत गुरुङलाई नै उम्मेदवार बनाउनु पर्छ, उहाँको नाम एकल रुपमा निर्णय गरी पठाउनु पर्छ भन्ने पक्षमा रहेकोले आकांक्षी केही नेताहरुलाई सम्झाएर एकल निर्णय लिइएको हो,’ बैठकको निर्णयबारे अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
एमालेमा केन्द्रीय सदस्यहरु श्याम बस्नेत, रचना खडका, वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण शिवाकोटीलगायतका नेताहरू उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो । सबै आकांक्षीको धारणा सुनेर सदस्यहरुको सुझावको आधारमा बैठकबाट पूर्वमन्त्री गुरुङको एकल नाम शिफारिश गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

गुरुङ यसअघि प्रतिनिधि सभामा दुई पटक निर्वाचित हुनुभएको नेता हुनुहुन्छ । उहाँले २०७९ को निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णय सुनाएर बालकृष्ण शिवाकोटीलाई उम्मेद्वार प्रस्ताव गर्नुभएको थियो ।
सो निर्वाचनमा शिवाकोटी ३ सय १७ मतले पराजीत हुनुभएको थियो । यसपटक पनि शिवाकोटीले दावी नछाडदा बैठकले निर्णय लिएर एकल उम्मेद्वार शिफारिश गरेको छ । पूर्वमन्त्री गुरुङ दोलखामा भएको कुनै पनि निर्वाचनमा हालसम्म पराजीत हुनुभएको छैन ।













प्रतिक्रिया दिनुहोस्