जनता टाइम्स

२२ पुष २०८२, मंगलवार २०:०६

रास्वपा उपसभापतिमा सहमति गर्नुभएका कुलमानको झुट : म कुनै पार्टी सदस्य छैन


काठमाडौं, २२ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदका लागि सहमति (सम्झौता) गर्नुभएका घिसिङले कुनै पनि दलको सदस्य नभएको दाबी गर्नुभएको हाे। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उहाँले दलमा आबद्ध नभएको बताउनुभएको हो ।

प्रश्नकर्ताले सोधेका थिए – ‘तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ?’ त्यसपछि प्रतिक्रिया दिनुभएका घिसिङले भन्नुभयो, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’

पुस १४ गते सोमबार राति रास्वपा र घिसिङ संरक्षक रहेको ऊज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो । घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ साक्षी बस्नुभएको थियो ।

कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको हो। सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो । बालेनले साक्षीका रूपमा हस्ताक्षर गर्नुभयो ।