जनता टाइम्स

२४ पुष २०८२, बिहीबार १९:५८

रोकिएनन् गगन-विश्वप्रकाश : संस्थापनको सहमति प्रस्ताव ठाडै अस्वीकार


काठमाडौं, पुस २४ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको एजेण्डासहित अघि बढ्नुभएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अव कुनै कुरामा नअलमलिने प्रष्ट पार्नुभएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खडकाले नियमित महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशन हुन सक्दैन भन्ने भनाइको प्रतिवाद गर्दै महामन्त्रीद्वय थापा र शर्माले अव विधानअनुसार अघि बढ्ने घोषणा गर्नुभएको छ ।

दुवै महामन्त्रीको यो घोषणाले विशेष महाधिवेशन पक्षधरलाई उत्साह थप्ने काम गरेको कांग्रेस वृत्तमा चर्चा छ । बिहीबारको बैठकमा विशेष महाधिवेशन रोक्न विधानतः नमिल्ने महामन्त्रीद्वयको अडान रहेको थियो । कांग्रेसमा विधानमै ४० प्रतिशतले मागेको अवस्थामा विशेष महाधिवेशन हुनैपर्ने बाध्यात्मक व्यवस्था रहेको बैठकपछि महामन्त्री थापाले बताउनु भयो ।

बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको तालिका घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नपर्ने प्रस्ताव बैठकमा राख्नुभएको थियो । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य नरहेको धारणा पनि राख्नुभएको छ ।

खड्काले पेस गरेको प्रस्तावमा यस्तो संवेदनशील बेलामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुने उल्लेख छ । खड्काको प्रस्तावप्रति महामन्त्री थापाले बैठकमा आपत्ति जनाउनु भएको थियो । विशेष परिस्थितिका कारण नै विशेष महाधिवेशन बोलाउनु पर्ने आवश्यकता आएको थापाको भनाई थियो ।

बैठकपछि महामन्त्री थापाले पुस २७–२८ का लागि बोलाइएको विशेष महाधिवेशन बाध्यता रहेको बताउँदै सहभागी हुन सभापति शेरबहादुर देउवालाईसमेत आग्रह गर्नुभयो ।