जनता टाइम्स

१ माघ २०८२, बिहीबार १५:०३

माघे सङ्क्रान्तिमा कमलामाई मन्दिरमा ऐतिहासिक मुकुट अर्पण


सिन्धुली, माघ १ । सिन्धुली जिल्लाको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको कमलामाई मन्दिरमा माघे सङ्क्रान्तिको पावन अवसरमा माता कमलामाईलाई ऐतिहासिक मुकुट अर्पण गरिएको छ ।

कमलामाई नगरपालिका–५ स्थित कमला र गौमती नदीको पवित्र संगमस्थलमा अवस्थित मन्दिरमा कमलामाई नगरपालिका र मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा मुकुट अर्पण गरिएकाे हाे । कार्यक्रम नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख मञ्जु देवकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्षहरू, जिल्ला प्रहरी प्रमुख, कर्मचारी, समाजसेवी तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो ।

हरेक वर्ष माघे सङ्क्रान्तिको विशेष अवसरमा माता कमलामाईलाई ऐतिहासिक मुकुट पहिर्याउने परम्पराअनुसार यस वर्ष पनि विशेष धार्मिक र्‍याली गरी पूजा गरेर मुकट चढाइएकाे हाे ।  जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट सुरु भएको र्‍याली भजन–कीर्तन र परम्परागत बाजागाजासहित मन्दिर परिसरमा पुगेको थियो । त्यसक्रममा नगर प्रमुख पोखरेलले विधिपूर्वक पूजा–अर्चना गर्दै मातालाई मुकुट अर्पण गर्नुभएको हो ।

कमला र गौमती नदीको संगमस्थलमा अवस्थित कमलामाई मन्दिर कमला नदी बहाव क्षेत्रकै महत्वपूर्ण शक्तिपीठका रूपमा परिचित छ । यस मन्दिरप्रतिको धार्मिक आस्था सिन्धुलीमाढीदेखि तराई र छिमेकी मुलुक भारतसम्म फैलिएको छ ।

विभिन्न कालखण्डका शासक र भक्तजनहरूले अर्पण गरेका यी गरगहना तथा सौन्दर्य सामग्रीहरू वर्षमा एक पटक माघे सङ्क्रान्तिको दिन मातालाई अर्पण गर्ने परम्परा रहँदै आएको छ ।