जनता टाइम्स

३ माघ २०८२, शनिबार ०८:५७

एमाले सचिवालय बैठक बस्दै, फागुन २१ को निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै


काठमाडौ, माघ ३। नेकपा एमाले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बैठक बस्न लागेकाे हाे ।

पार्टी प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय भएकाले उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । ती सिफारिसमाथि छलफल गरी सचिवालय बैठकले अन्तिम निर्णय गर्ने तयारी गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भइसकेको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले सबै निर्वाचन क्षेत्रमा एमालेले सूर्य चिन्हबाट उम्मेदवार अघि बढाउने तयारी गरेको छ ।

शाहीका अनुसार दुर्गम भेगका उम्मेदवारलाई समयमै निर्वाचन क्षेत्रमा पुग्न र मनोनयन प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले उम्मेदवार टुंग्याउने प्रक्रिया छिटो अघि बढाइएको हो । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो ।