जनता टाइम्स

३ माघ २०८२, शनिबार ११:३०

गाउँमै रोजगारी सिर्जना गरेर सहर र विदेश पलायन रोक्नुपर्छ : आनन्द श्रेष्ठ


रामेछाप, माघ ३ । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सदस्य तथा वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले रोजगारीको खोजीमा विदेश वा सहर जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी नीतिगत र व्यावहारिक काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रामेछापको साँघुटारामा साँघुटार युवा क्लबद्वारा आयोजित वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गाउँघरमै रोजगारी सिर्जना गर्ने विशेष योजना सञ्चालन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ र बजार केन्द्रलाई साना सहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

श्रेष्ठले हाल गाउँमा भौतिक पूर्वाधार विकास भए पनि आम्दानीको खोजीमा मानिसहरू सहर र विदेशतर्फ पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्नुभयो । पहाडी क्षेत्रबाट विदेश र सहर जाने दर बढ्दै गएको बताउँदै उहाँले यस प्रवृत्तिलाई रोक्न गाउँमै रोजगारी सिर्जना गर्नु नै एकमात्र दीगो विकल्प भएको स्पष्ट पार्नुभयो ।

उहाँले राज्यको तर्फबाट धेरै पूर्वाधार योजना स्वीकृत भए पनि निर्माण व्यवसायीहरूको ढिलासुस्तीका कारण कतिपय योजना अलपत्र परेको बताउनुभयो । त्यसतर्फ गम्भीर ध्यान दिन निर्माण व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

देश अहिले गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै श्रेष्ठले यही संकटभित्र सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सबै राजनीतिक दल, सबै उमेर समूहका नागरिक र नागरिक समाजले संयमता र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।