बिराटनगर, माघ ५ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले निर्वाचन क्षेत्र नं १ मा घनश्याम खतिवडा, क्षेत्र नं २ मा दिलीप अग्रवाल, क्षेत्र नं ३ मा इरान राई, क्षेत्र नं ४ मा जीवन घिमिरे, क्षेत्र नं ५ मा मनोज अग्रवाल र क्षेत्र नं ६ मा विनोद ढकाललाई उम्मेदवार बनाएको छ । आइतवार साँझ एमालेले जिल्लाको सन्तुलन र जनताबीच लोकप्रियताको आधारमा सबै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको हो ।
क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडा एमाले कोशी प्रदेशका अध्यक्ष हुनुहुन्छ भने क्षेत्र नम्बर २ का उम्मेदवार दिलीप अग्रवाल रंगेली नगरपालिकाका मेयर हुनुहुन्छ । यसअघि सोही क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा एमालेले मोरङ जिल्लामा यही एक क्षेत्रमा मात्रै जित हासिल गरेको थियो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले क्षेत्र नम्बर ३ का लागि दिलीप राईलाई उम्मेदवार चयन गरेको भए पनि आइतबार उक्त निर्णय संशोधन गर्दै इरान राईलाई उम्मेदवार बनाइएको जिल्ला इन्चार्ज ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी, शनिबार उम्मेदवार छनोट बाँकी रहेका क्षेत्र नम्बर ५ र ६ मा पनि आइतबार उम्मेदवार टुंग्याउँदै एमालेले मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेको छ ।













प्रतिक्रिया दिनुहोस्