काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले दुई चिरपरिचित प्रतिद्वन्द्वी उद्योगपतिलाई एकै प्रदेशमा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएर मैदानमा उतार्नुभएको छ । पछिल्लो समय विनोद चौधरीलाई काउन्टर दिन खडा गरिएका करेन्ट चाउचाउका मालिकलाई चुन्नुप्रसाद पौडेललाई थापाले उम्मेदवार बनाउनु भएको हो ।
एउटै राजनीतिक दलको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्न लागेका यी दुई उम्मेदवारहरू व्यावसायिक जीवनमा कट्टर प्रतिस्पर्धी रहेको र अदालतमा विचाराधीन मुद्दाका पक्ष–विपक्ष अर्थात् ’झगडिया’ रहेको तथ्य सार्वजनिक भएको छ ।
चौधरी ग्रुपका अध्यक्ष तथा डलर अर्बपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ सोही क्षेत्रका निवर्तमान सांसद समेत हुनुहुन्छ ।
यसैगरी, यशोदा फुड्सका सञ्चालक चुन्नुप्रसाद पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार हुनुहुन्छ । जनतासँगको मित्रवत् सम्बन्ध र जनप्रिय कामका कारण विष्णु सो निर्वाचन क्षेत्रमा आजसम्म पराजीत हुनुपरेको छैन ।
कांग्रेसले विनोद चौधरीको कट्टर दुस्मन चुन्नुलाई छानेको हो । प्राप्त विवरण अनुसार यी दुई उम्मेदवारहरू बिच गम्भीर व्यावसायिक तथा कानुनी द्वन्द्व विद्यमान छ । विनोद चौधरीको स्वामित्वमा रहेको ’वाईवाई’ (WaiWai) चाउचाउ र चुन्नु प्रसाद पौडेलको उत्पादन ’करेन्ट’ (Current) चाउचाउ बजारका प्रत्यक्ष प्रतिस्पर्धी हुन्। साथै, चुन्नु प्रसाद पौडेल ’करेन्ट’ तथा ’भोला’ गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको (Shriram Tobacco) का सञ्चालक समेत रहेको खुल्न आएको छ ।
चौधरी ग्रुपले यशोदा फुड्स विरुद्ध ’ट्रेडमार्क चोरी’ (Trademark Infringement) को आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । चौधरी ग्रुपको दाबी अनुसार यशोदा फुड्सले वाईवाईको प्याकेजिङ र ट्रेडमार्क नक्कल गरेको थियो । यस विषयमा सर्वोच्च अदालतले अगस्ट २०२४ मा यशोदा फुड्सलाई वाईवाई जस्तै देखिने प्याकेट बजारबाट फिर्ता गर्न र उत्पादन रोक्न आदेश दिइसकेको छ । एउटै पार्टीबाट उम्मेदवार बने तापनि कानुनी रूपमा उहाँहरू एक–अर्काका विपक्षीको हैसियतमा हुनुहुन्छ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएका थापाले टिकट वितरणमा निर्णायक भूमिका खेल्नुभएको थियो । दुवै व्यवसायीलाई सभापति थापाको विश्वासपात्रको रूपमा हेरिएको छ । टिकट वितरण प्रक्रियाका सम्बन्धमा विनोद चौधरीले “पैसाको चलखेल नभएको“ भन्दै नयाँ नेतृत्वको बचाउ गर्नुभएको छ।
नेकपा एमालेका विष्णु पौडेल पाल्पाबाट चुनाव लड्न जाने चर्चा चलेपछि चुन्नुप्रसाद पौडेलले रुपन्देहीबाट टिकट लिने प्रयास गर्नुभएको बताइएको छ । तर विष्णुलाई रुपन्देहीकै मतदाताले बाटो छेकेर पाल्पा जानबाट रोकेपछि चुन्नु तनावमा पर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्