जनता टाइम्स

१० माघ २०८२, शनिबार १०:११

एमालेका ठाकुर गैरेलाई समर्थन गर्दै पाल्पा-२ का स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले लिए उम्मेदवारी फिर्ता 


पाल्पा, माघ १० । पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्नुभएका स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरेलाई समर्थन गर्नुभएको छ।

उहाँले वर्तमान परिस्थितिमा पाल्पाको विकासलाई जनताको मनोभावअनुसार गति दिन नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएका ठाकुरप्रसाद गैरेबाट मात्र सम्भव देखिएको बताउँदै उहाँको समर्थनमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो।

रैनादेवी छहरा गाउँपालिका–३ निवासी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (१) बमोजिम उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार माघ ८ गते प्रकाशित उम्मेदवारहरूको नामावलीबाट आफ्नो नाम हटाउन भण्डारीले दिएको निवेदनअनुसार नाम हटाउने निर्णय गरिएको हो।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको थियो। भण्डारीले उम्मेदवारी फिर्ता लिएसँगै स्वतन्त्र उम्मेदवारको सङ्ख्या दुईमा झरेको छ।

उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका भण्डारीले आफूलाई मतदान गर्ने योजनामा रहेका मतदातालाई नेकपा (एमाले) का सूर्य चिह्नधारी उम्मेदवार ठाकुरप्रसाद गैरेलाई मतदान गरी अत्यधिक मतले विजयी बनाउन आग्रह समेत गर्नुभएको छ।