काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्रै प्रवेश गरी तोडफोड र आगजनीमा संलग्न व्यक्ति कृष्णकुमार कार्कीलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको खुलासा भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले मोरङ क्षेत्र नम्बर २ बाट कार्कीलाई उम्मेदवार घोषणा गरेको हो । कार्की भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा प्रवेश गरी विध्वंस मच्चाउने समूहका प्रमुख व्यक्तिमध्ये एक रहेको पुष्टि भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की करिब १२ वर्ष वैदेशिक रोजगारीका लागि जापानमा बस्नुभएको थियो । केही समयअघि मात्रै नेपाल फर्किनुभएका उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीर तथा पोस्टहरूमा संसद् भवनभित्र कुर्सी थुपारेर आगो लगाइएको दृश्य देख्न सकिन्छ ।
कार्कीले भदौ २५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत संसद् भवनमा गरिएको तोडफोड र आगजनीमा आफू संलग्न रहेको स्वीकार गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हामी संसद् भवन प्रवेश गरिम, संसद् भवनको भित्र अगाडि पुराना कुर्सी जम्मा गरेर आगो बालिम र खुसीयाली मनायौँ, नेताको घर मात्र हाम्रो टार्गेट थियो ।’
उहाँले बालाजुदेखि सिंहदरबारसम्म भएको विध्वंसको जिम्मेवारी ‘जेनजी’ आन्दोलनले लिने समेत उल्लेख गर्नुभएको छ ।
रोचक पक्ष के छ भने, अहिले जुन पार्टीको तर्फबाट कार्की उम्मेदवार बन्नुभएको छ, केही महिना अघिसम्म उहाँ त्यही पार्टीको नेतृत्वप्रति तीव्र आलोचक हुनुहुन्थ्यो । जापानमा रहँदा उहाँले रास्वपा सभापति रवि लामिछानेलाई ‘अमेरिकी’ र ‘सहकारी ठग’ भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आउनुभएको थियो ।
गत अप्रिल १ मा कार्कीले लेख्नुभएको थियो, ‘सोझा–सिधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु ।’ संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि पनि उहाँले लामिछानेलाई दोषी ठहर गर्दै तीव्र अभिव्यक्ति दिनुभएको थियो । उहाँले लेख्नुभएको थियो, ‘म जस्तो मान्छे शक्तिमा पुगेँ भने तपाईंहरू (रवि लामिछाने) र सहकारी ठगहरू एउटै जेलमा जानुपर्छ, यति चाहिँ हेक्का रहोस् ।’
त्यसैगरी, कार्कीले रास्वपाकी नेतृ तथा उपसभामुख इन्दिरा राना मगरमाथि समेत मानव तस्करीको आरोप लगाउँदै रास्वपा पुरानै दलहरूजस्तै लुटतन्त्रमा संलग्न भएको दाबी गर्दै आलोचना गर्नुभएको थियो ।
मोरङ क्षेत्र नम्बर २ मा यसअघि रास्वपाबाट ठगेन्द्र न्यौपाने उम्मेदवार रहनुहुन्थ्यो । स्थानीय तहमा उहाँकै नाम चर्चामा रहे पनि अन्तिम समयमा कार्कीले टिकट पाएपछि रास्वपाभित्रै असन्तुष्टि चुलिएको बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्