जनता टाइम्स

१५ माघ २०८२, बिहीबार १०:२८

यस्ता छन् दाङ क्षेत्र नं २ बाट उम्मेदवार बनेका एमाले महासचिव शंकर पाेखरेलकाे प्रतिवद्धता


दाङ, माघ १५ । प्रतिनिधि सभा निर्वाचनको लागि दाङ-२ बाट मनोनयन दर्ता गराउनु भएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङलाई अब राष्ट्रको नेतृत्वकारी भूमिकामा पुर्‍याउने समय आएको बताउनुभएको छ। उहाँले दाङको विकास र समृद्धिलाई अझ तीव्र बनाउन आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न दाङवासीसँग आग्रह गर्नुभएको छ।

महासचिव पोखरेलले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा आफूले पूरा गरिसकेको उल्लेख गर्दै संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा संस्थापक मुख्यमन्त्रीका रूपमा नेतृत्व गरेर सो काम गरेको स्मरण गराउनु भएको छ । ‘मैले वाचा गरेँ- दाङलाई प्रदेशको राजधानी बनाउँछु, वाचा पूरा गरेँ’, उहाँको भनाइ छ ।

महासचिव पोखरेलले दाङको पूर्वाधार विकासका लागि आधारभूत ‘फाउन्डेसन’ तयार गर्न आफूले भूमिका खेलेको बताउनुभएको छ।

पानीमुनी पुल भएको जिल्लाको परिचय बदल्दै विकासको नयाँ बाटोमा दाङलाई अघि बढाउन नेतृत्व गरेको उहाँको भनाइ छ।

उहाँले प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासम्म विस्तार गर्न सहजीकरण गरेको तथा उच्चप्राविधिक शिक्षाको आधारशिला निर्माणमा योगदान दिएको उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले प्रतिनिधित्व गर्ने अवसर पाउँदा दाङवासीको गौरव बढाउने काम गरेको र पराजय बेहोर्दा पनि जिल्लावासीकै सेवामा निरन्तर समर्पित रहेको बताउनुभयो। ‘जतिवेला दाङको प्रतिनिधित्व गर्ने अवसर पाएँ, दाङवासीको गौरव बढाउने काम गरेँ, पराजय बेहोर्दा पनि जिल्लावासीकै सेवामा निरन्तर समर्पित रहेँ।’

महासचिव पोखरेलले अब दाङले ज्ञापनपत्र बोकेर हिँड्ने होइन, बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने जिल्लाको रूपमा आफूलाई स्थापित गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार दाङमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू पूरा गर्नुपर्नेछ भने नयाँ योजनाहरू पनि अघि बढाउनुपर्नेछ।

महासचिव पोखरेलले आगामी दिनमा दाङको समग्र विकासका लागि विभिन्न योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस्ता छन् उहाँका प्रमुख प्रतिवद्धताहरू  :

  • लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने
  • ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने
  • मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने
  • त्रिवि अन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने
  • गुहारखोला हाइड्याम र नहर प्रणाली विकास गर्ने
  • तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान/अवतरण योग्य बनाउने
  • ग्रामीण सडक कालोपत्रे तथा सहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने
  • सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी सङ्ख्या वृद्धि गर्ने
  • स्वास्थ्य बिमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गर्ने
  • कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको जीवनस्तर उठाउने
  • युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने
  • नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुट दिने नीति लागू गर्ने
  • कृत्रिम जलाशय निर्माण गरी सिँचाइ सुविधा विस्तार गर्ने
  • घोराहीदेखि बंगलाचुली खानी क्षेत्र जाने सडक ढलान बनाउने
  • प्रदेश राजधानी गुरु योजना कार्यान्वयन गर्ने

महासचिव पोखरेलले दाङको विकास र दाङवासीको सम्मान नै आफ्नो मुख्य लक्ष्य रहेको बताउँदै ‘सबल दाङ, समृद्ध नेपाल’ निर्माणका लागि सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभएकाे छ । उहाँले भन्नुभयो, ‘आदरणीय दाङ्गाली दाजुभाइ दिदीबहिनीहरूका आकांक्षा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु, यसपटक सूर्य चिन्हमा मतदान गरी विजयी बनाउनुहोस्।’