काठमाडौं, मंसिर १८ । महानगरीय ट्राफिक महाशाखाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङ रेस च्याम्पियनसीप सञ्चालन गर्नुपर्ने भन्दै उपत्यकाको सडक प्रयोगबारे सूचना जारी गरेको छ । महाशाखाले आज सूचना जारी गर्दै मंसिर २० र २१ गतेका लागि उपत्यकाबासीलाई सडक प्रयोग सम्बन्धी जानकारी गराएको हो ।
‘१३औं साग गेम अन्तर्गत साइक्लिङ रेस च्याम्पियनसीप मंसिर २० गते शुक्रवार कलंकीदेखि कोटेश्वर सडक खण्डमा हुने हुँदा उक्त सडक खण्डमा आवज जावत गर्ने सडक प्रयोगकर्ता महानुभावहरुले सर्भिस लेन प्रयोग गरी सहयोग गरिदिन हुन अनुरोध छ,’ ट्राफिक महाशाखाले भनेको छ । महाशाखाले मंसिर २० र २१ गते खेल सञ्चालन हुन सडक तोक्दै बैकल्पिक रुटसमेत तोकेको छ । ‘ महाशाखाले २१ गते शनिवार कलंकीदेखि भक्तपुरको सूर्यबिनायक सडक खण्डमा उक्त खेल हुने जनाउँदै अर्काे रुट प्रयोग गर्न सुझाएको छ ।
‘साइक्लिङ रेस च्याम्पियनसीप मंसिर २१ गते कंलंकीदेखि सूर्यबिनायक सडक खण्डमा हुने हुँदा कलंकीदेखि कोटेश्वर सडक प्रयोगकर्ता महानुभावहरुले सर्भिस लेन प्रयोग गर्न हुन र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, ब्याँसी, कमल बिनायक, च्यामासिंहहुँदै जगातीको सडक प्रयोग गरी सहयोग गरिदिन हुन अनुरोघ छ,’ सूचनामा भनिएको छ । तोकिएको दिन र तोकिएको रुटमा अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक ब्यवस्थापनमा सघाउन पनि महाशाखाले सवैलाई सूचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्