काठमाडौं, माघ १७ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटास्थित घरमा चोरी भएको छ। पूर्वमेयर बालेन र उहाँकी पत्नी सविना हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।
शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको जानकारी पाउनु भएकाे थियाे । उहाँले नै घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ । हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको-नभएको भन्नेबारे थप खुलाइएको छैन ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको पाइएको छ । सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्