रामेछाप, माघ १९ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले फागुन २१ गते हुने निर्वाचनलाई लोकतन्त्रको जित–हारसँग जोडिएको जनमत सङ्ग्रहको रूपमा व्याख्या गर्नुभएको छ ।
नेपाली कांग्रेस रामेछाप प्रचार शाखाले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले निर्वाचनको परिणाम लोकतान्त्रिक शक्तिहरूको जित वा हारसँग प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो । ‘लोकतान्त्रिक शक्तिले चुनाव जिते भने लोकतन्त्रले जित्छ, नत्र लोकतन्त्रले हार्छ,’ उहाँले भन्नुभयो, ‘यो विषम अवस्थाको अगुवाइ नेपाली कांग्रेसले गर्नुपर्छ, अन्यथा लोकतन्त्र दुर्घटनामा पर्छ।’
खड्काले अहिलेको निर्वाचन अत्यन्त संवेदनशील परिस्थितिमा हुन लागेको उल्लेख गर्दै भदौ २३ र २४ का घटनापछि गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएकाले निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । ‘यो निर्वाचनमा असाध्यै संयमताका साथ जानुपर्ने स्थिति छ,’ उहाँले जोड दिनुभयो ।
उम्मेदवार खड्काले पछिल्लो समय पुराना राजनीतिक दलहरूप्रति वितृष्णा फैलाउने प्रयास भइरहेको भन्दै केही शक्तिहरूले ‘पुराना पार्टीले केही गरेनन्’ भन्ने अफवाह फैलाइरहेको आरोप लगाउनुभयो । ‘कमजोरी सुधार गर्नुपर्छ, तर राम्रा कामलाई छायामा पारेर पुराना पार्टीलाई बदनाम गराउने प्रयत्न देशी–विदेशी शक्तिबाट भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा संयमताका साथ निर्वाचनमा जानुपर्छ भन्ने अठोटका साथ कांग्रेस होमिएको छ।’
खड्काले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसले निरन्तर योगदान गर्दै आएको दाबी गर्दै वर्तमान विषम परिस्थितिको निकास पनि कांग्रेसले नै दिन सक्ने बताउनुभयो । ‘हामी लोकतन्त्रवादीले जित्ने गरी संयमित ढङ्गले अघि बढ्छौँ,’ उहाँले भन्नुभयो ।
खड्काले रामेछाप जिल्लाको पूर्वाधार निर्माण र आर्थिक विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको उल्लेख गर्नुभयो । त्यसका लागि कानुन सुधार, नयाँ कानुन निर्माण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । राजनीतिक दलहरू आफ्ना एजेण्डा लिएर मतदाताकाे घर-दैलाेमा पुगिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्