जनता टाइम्स

२७ माघ २०८२, मंगलवार २२:००

गाउँ–गाउँमा ढुंगेलको जनसम्पर्क अभियान : हिमगंगामा कोणा सभा र पार्टी प्रवेश


रामेछाप, माघ २७ । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव ढुंगेलले रामेछाप नगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँले जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै गाउँ–गाउँमा प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको हो।

उम्मेदवार ढुंगेलले रामेछाप–३ साँघुटार, वडा नं. ४ को हिमगंगा, वडा नं. ५ को रामपुर तथा वडा नं. ६ को ओख्रेनी क्षेत्रमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो। सो अवसरमा स्थानीय विकासका प्राथमिकता, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आगामी योजनाका विषयमा छलफल भएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत हिमगंगाको बोलुमबोलुममा कोणा सभा तथा पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने कार्यकर्ताहरूलाई उम्मेदवार ढुंगेलसहित पार्टीका केन्द्रीय सदस्य गीता कार्की, पार्टी नेता शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, वाग्मती प्रदेश सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होताराज ढकाल तथा जिल्ला पार्टीका अन्य नेताहरूले स्वागत गर्नुभएको थियो।

त्यसैगरी नगरपालिका कमिटी अध्यक्ष रोशन पाख्रिन, सचिव माधव ढकाललगायत स्थानीय नेताहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। गाउँमा उम्मेदवार पुग्दा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

उम्मेदवार ढुंगेलले स्थानीयको उत्साहजनक सहभागिताले यस पटक रामेछापमा एमालेप्रति जनताको विश्वास र समर्थन स्पष्ट देखिएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा रामेछापबाट नेकपा एमालेले जित हासिल गर्ने दाबीसमेत गर्नुभयो।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार ढुंगेलले प्रत्यक्ष जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउँदै मतदातासँग निरन्तर संवाद गरिरहनुभएको बताइएको छ।