जनता टाइम्स

११ फाल्गुन २०८२, सोमबार ०९:५५

निजी क्षेत्रको आत्मविश्वास इतिहासकै सबैभन्दा कमजोर : ८१ अर्ब बराबरको आर्थिक क्षति, मानसिक क्षति झनै ठूलो


काठमाडौं, फागुन ११ । भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि नेपालमा लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण इतिहासकै कमजोर बिन्दुमा पुगेको देखिएको छ । एक अध्ययनले यस्तो डरलाग्दो अवस्थाको चित्रण गरेको हो । अध्ययनको यस निष्कर्षको आधारमा आगामी चुनावमा जुनसुकै दलले जिते पनि आसन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने सरकारले निजी क्षेत्रको पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।

अनलाइन समाचार पोर्टल ‘क्लिकमाण्डु डट कम’ ले हालै सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले जेनजी आन्दोलनका कारण निजी क्षेत्र तहसनहस भएको देखाएको हो । प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गरेका छन् । यस्तै ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको अवस्था देखिएको छ ।

प्रतिवेदनले नेपालका स्थापित र ठुला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्‍याएको देखाएको छ । खास गरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो छ । दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुर्‍याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पुर्‍याएको प्रतिवेदनको ठहर छ । अर्बौँ रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् ।

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा समेत आक्रमण भएको थियो । धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भयो । जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठुलो असर मनोबलमा परेको पाइएको हो ।

प्रतिवेदनमा प्रमुख सूचनादाताका रूपमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभएको छ, ‘दशकौँको मेहनत र अर्बौँको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ । आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त ? भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठुलो पीडा हो ।’

अध्यक्ष ढकालका अनुसार अङ्कमा मापन गर्नै नसकिने ‘मनोवैज्ञानिक क्षति’ भौतिक क्षतिभन्दा निकै बढी छ । लगानीकर्ताको मनोबल टुट्नु र असुरक्षाको भावना बढ्नु मुलुकको दीर्घकालीन विकासका लागि निकै महँगो साबित हुने उनको भनाइ छ । यस्तै महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन् । तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस मैले गरेको छु । रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईर्ष्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ ।’

निजी क्षेत्रले जोखिम नमोल्ने र व्यवसाय नगर्ने हो भने देश सञ्चालन हुने नसक्ने भन्दै गोल्छा भन्नुहुन्छ, ‘तर, हामीलाई जहिले पनि ‘नाफाखोर’ का रूपमा मात्र हेरिन्छ । हामीले जोखिम नमोले रोजगारी सिर्जना हुँदैन, सरकारले कर पाउँदैन ।’ गोल्छाका अनुसार व्यवसायीले कानुनको परिधिभित्र रहेर मर्यादित रूपमा नाफा कमाउँछन् र कर तिर्छन् ।

अध्ययनमा सहभागी ९८ प्रतिशत व्यवसायीले जेनजी प्रदर्शनका कारण आफ्नो मनोबलमा सामान्य, ठुलो वा अत्यधिक असर परेको जवाफ दिँदा दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिएका थिए । आठ प्रतिशत व्यवसायीले लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न आफू तयार नभएको बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत व्यवसायी छन् । २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक देखिएका छन् ।

‘विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ ।’

प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखाएको छ । नयाँ लगानीका योजना स्थगित भएको र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ । नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन् क्षीण भएको छ ।

जेनजी विद्रोहका क्रममा उद्योग, बैङ्क, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ, जुन करिब ८१ अर्ब रुपैयाँ आँकलन गरिएको छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ ।