पर्सा, फागुन ११। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
आइतबार साँझ युवा समूहबीच झडप भएपछि बिग्रिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ। उक्त चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायतका गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी, परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवार गाडी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ।
साथै हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्