जनता टाइम्स

११ फाल्गुन २०८२, सोमबार १४:५६

केपी ओलीलाई फेरि पनि मूलढोकाबाट सिंहदरबार पुर्‍याउँछौँ : पुष्पराज श्रेष्ठ


झापा, फागुन ११। नेसनल भोलेण्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाई पुनः मूलढोकाबाट सिंहदरबार पुर्‍याउने अभियानमा आफूहरू सक्रिय रूपमा लागेको बताउनुभएको छ।

सोमबार झापामा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा बोल्दै उहाँले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभयो। ‘देशको भाग्य र भविष्य बदल्ने पार्टी नेकपा एमाले मात्रै हो,’ उहाँले भन्नुभयो, ‘लाखौँ सहिदको बलिदानबाट प्राप्त गणतन्त्र गम्भीर खतरामा छ।’

उहाँले ‘जेनजी आन्दोलन’को नाममा देशलाई अस्थिर बनाउने प्रयास भएको बताउँदै प्रतिक्रान्तिको सङ्केत देखिएको दाबी गर्नुभयो। विदेशी शक्तिलाई देश सुम्पिने प्रयास भएको तर एमालेको खबरदारीका कारण देश जोगाउन सफल भएको उहाँको भनाइ छ।

कमाण्डर श्रेष्ठले अहिलेको चुनाव देश बनाउने र देश जलाउने सक्तीबिचको प्रतिस्पर्धा भएको टिप्पणी गर्नुभयो। यस्तो अवस्थामा देश निर्माणको पक्षमा रहेको एमालेको जित सुनिश्चित हुने उहाँले दाबी गर्नुभयो। चुनावमा धाँधली हुन सक्ने आशङ्का व्यक्त गर्दै उहाँले यूथ भोलेण्टियर फोर्सले त्यसलाई हुन नदिने चेतावनी दिनुभयो।

एमाले र अध्यक्ष ओलीलाई राष्ट्रियताको पक्षमा बोलेको कारण लामो समयदेखि घेराबन्दी गरिएको आरोप लगाउँदै उहाँले एमाले राष्ट्र हितमा ‘चट्टानझैँ’ उभिने बताउनुभयो। ‘यस्तो बेलामा केपी ओलीको पक्षमा नउभिए इतिहासले धिक्कार्नेछ,’ उहाँले भन्नुभयो।

कार्यक्रममा उहाँले कोशी प्रदेशस्तरीय युनिफाइड कमाण्ड घोषणा गर्दै प्रमुखमा सुरज सावा लिम्बु लाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो।  एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेसनल भाेलेण्टियरका सदस्य एवं एमालेका नेता तथा समर्थक कार्यकर्ताहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो।