काठमाडौं, फागुन १३ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता राजकुमार शर्माको प्रदेशसभा सदस्य पद रिक्त भएको छ। उहाँलाई नेपाली कम्युनिष्ट पार्टीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।
नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको उल्लेख छ।
पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका सदस्यसमेत रहनुभएका शर्मामाथि पार्टी अनुशासन र नीति विपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको जनाइएको छ। सचिवालयद्वारा जारी सूचनाअनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ को उपदफा (१) बमोजिम यस्तो जानकारी प्राप्त भएपछि सभामुखले १५ दिनभित्र सभालाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ।
हाल कर्णाली प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित रहेकाले सभामुखको निर्देशनमा सचिवालयको सूचना पाटीमा जानकारी टाँस गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभएको छ। ऐनअनुसार सभाको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा सूचना पाटीमा टाँस गरेपछि सम्बन्धित पद स्वतः रिक्त भएको मानिने व्यवस्था छ।
कर्णाली प्रदेशसभा नियमावली, २०५१ को नियम २ को खण्ड (म) को उपखण्ड (८) बमोजिम उक्त सूचना सार्वजनिक गरिएको सचिवालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्