दाङ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेल ले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको सङ्केत भएको उल्लेख गर्नुभएको हो । “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन– यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो, नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ, चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो,” उहाँले लेख्नुभएको छ ।
उहाँले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभएको छ । चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ ।
महासचिव पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताउनुभएको छ । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उहाँको धारणा छ । “हामीले बुझ्नुपर्छ: लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्छ, नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ, भूराजनीतिक दबाब र प्रोपागाण्डा खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ– सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ,” उहाँले उल्लेख गर्नुभएको छ ।
भूराजनीतिक दबाब र प्रोपागाण्डाकाे खेलमा नेपाललाई प्रयोग हुन नदिन, तथ्य जाँच गरी राष्ट्रिय हितको पक्षमा उभिन उहाँले सबैमा आह्वान गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्