रामेछाप, फागुन १६ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा खटिने कर्मचारी व्यवस्था गरिसकेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जिल्लाका ९६ मतदानस्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरू खटाइसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार २ सय ३० मतदान अधिकृतमध्ये ३७ जना महिला रहनुभएको छ र ती मतदानस्थलहरूको नेतृत्व महिलाले गर्नुहुनेछ ।
यस पटकको निर्वाचनका लागि जम्मा १ हजार ३ सय ७४ कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो । तीमध्ये ३७ जना मतदान अधिकृतसहित ४ सय ४९ जना महिला कर्मचारी रहेका छन् । खटाइएका कर्मचारीहरू भोलिदेखि सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो ।
जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निर्वाचनका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ४१ मतदानस्थललाई अति संवेदनशील, ३५ लाई संवेदनशील र २० मतदानस्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
ती मतदानस्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको उहाँले बताउनुभयो ।
रामेछापका प्रहरी प्रमुख डीएसपी भोला भट्टका अनुसार संवेदनशीलताको आधारमा सुरक्षा रणनीति तयार गरिएको छ । मतदानस्थल वरपर प्रहरी युनिटहरू पुगिसकेको र भोलिदेखि मतदानस्थलमै खटिएर सुरक्षामा परिचालन हुने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्