जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार २३:३०

दोलखाको मालु मतदान केन्द्रमा पुनः मतदान नहुने, मतपेटिका सदरमुकाम ल्याइयो


काठमाडौं, फागुन २१। निर्वाचन आयोगले दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा पुनः मतदान नहुने जनाएको छ।

उक्त मतदान केन्द्रमा करिब पाँच घण्टा मतदान अवरुद्ध हुँदा सबै मतदाता हिँडेपछि पुनः मतदान गरिएको थियो। विवाद र तनावका बीच पुनः मतदान सम्पन्न भइसकेको र मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको आयोगले जानकारी दिएको हो।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सो मतदान केन्द्रमा पुनः मतदान गराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको छ। उहाँले भन्नुभयो, ‘तामाकोशीमा निर्वाचन सम्पन्न भइसकेको छ, पुनः मतदान (रि–पोलिङ) गर्नुपर्ने अवस्था छैन।’ उहाँका अनुसार यसपटक देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः निर्वाचन गराउनुपर्ने स्थिति छैन।

गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खाेजेपछि बिहानैदेखि मतदान प्रक्रिया अवरुद्ध भएको थियो। विवादका क्रममा नेपाली कांग्रेस सम्बद्ध केही व्यक्तिले मतपत्रको ठेली नै लिएर हिँडेपछि स्थिति थप तनावपूर्ण बनेको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो। लामो समयसम्म मतदान रोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिहरूले मतदान स्थल छाडेका थिए ।

विवाद हुनुअघि करिब ३ सय मत खसेको थियो। त्यसपछि मध्याह्न ४ बजेदेखि पुनः मतदान सुरु गरिएको थियो। तर लामो समय मतदान अवरुद्ध हुँदा धेरै मतदाता घर फर्किसकेकाले मतदान अपेक्षाकृत कम भएको जनाइएको छ।

२ हजार ५ सयभन्दा बढी मतदाता रहेको उक्त मतदान केन्द्रमा जम्मा ६ सय ९८ मत मात्र खसेको निर्वाचन अधिकारीहरूले जनाएका छन्। कम मतदान भएका कारण पुनः मतदान हुन सक्ने अनुमान गरिए पनि आयोगले त्यसको आवश्यकता नरहेको ठहर गर्दै मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याइसकिएको जनाएको छ।