जनता टाइम्स

२६ फाल्गुन २०८२, मंगलवार १३:०८

अमरेशकुमार सिंहले कांग्रेस छोड्नु र नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ : मिराज ढुङ्गाना 


काठमाडौं, फागुन २६ । जेन–जी अभियन्ता मिराज ढुंगानले सांसद डा. अमरेशकुमार सिंहको राजनीतिक यात्राबारे टिप्पणी गर्दै उहाँले सर्लाही–४ मा गरेको विकास र परिवर्तन अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको भन्दै व्यङ्ग्य गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै ढुंगानले डा. सिंहले समयअनुसार राजनीतिक दल, झण्डा र चुनाव चिन्ह परिवर्तन गरे पनि उहाँले निर्वाचन क्षेत्र सर्लाही–४ मा गरेको काम सबैलाई थाहा भएको उल्लेख गर्नु भएको छ । ढुंगानले लेख्नु भएको छ, ‘बाँचेपछि चोला फेरिन्छ-हिजो काँग्रेस, कहिले स्वतन्त्र, आज रास्वपा तर हजुरले सर्लाही–४ मा गरेको विकास र परिवर्तनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै थियो र रहने छ।’

उहाँले स्वतन्त्र सांसद रहँदा सांसदबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई चुनौती दिने साहस देखाएको टिप्पणी गर्नु भएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि कांग्रेस सभापति गगन थापालाई सुझाव दिएको प्रसङ्ग पनि उल्लेख गर्नु भएको छ ।

ढुंगानले इतिहासलाई स्मरण गर्दै मधेसी नेताहरूलाई अपमान गरिने समयसमेत रहेको उल्लेख गर्नु भएको छ। त्यति बेला पनि डा. सिंहलाई सम्मानपूर्वक व्यवहार गर्ने पार्टी नेपाली कांग्रेस भएको दाबी गर्दै उनले अहिले कांग्रेस छाडेर अर्को दलमा प्रवेश गर्नुका कारणबारे समाजले समय क्रममा बुझ्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘जब सबैले मधेसी नेतालाई भारतीय दलाल र एजेन्ट भन्दै अपमान गर्थे, त्यति बेला पनि तपाईँलाई सम्मानले नेपाली नागरिक जस्तो व्यवहार गरेको पार्टी नेपाली कांग्रेस नै हो।’

उहाँले आफ्नो धारणा व्यक्त गर्दै हालैको निर्वाचनले डा. सिंहको राजनीतिक जीवन र भविष्य दुवैलाई सुरक्षित गरेको टिप्पणी पनि  गर्नु भएको छ । उहाँले डा. सिंहको दीर्घायुको कामना गर्दै समाज र देशका लागि अझै योगदान दिने अपेक्षा व्यक्त गर्नु भएको छ ।

यस्तो छ मिराजकाे फेसबुक स्ट्याटस : 

आदरणीय डा. अमरेश जी सप्रेम नमस्कार।

स्वतन्त्र हुँदा सदनबाट बालेनलाई च्यालेन्ज गर्ने तपाईंले, रास्वपा प्रवेश गरेपछि गगनलाई सुझाव दिनुभयो। इतिहासले देखाएको छ-जब सबैले मधेसी नेतालाई अपमान गर्थे, भारतीय दलाल र एजेन्ट भन्दा तपाईँलाई सम्मानले नेपाली नागरिक जस्तो व्यवहार गरेको पार्टी नेपाली कांग्रेस नै हो।

काँग्रेसीहरू त हिजो तपाईँलाई अन्य दलको दलाल भनेर गाली गर्थ्यौँ। आज, तपाईँ पार्टी छोड्दा, फेरि हामी तपाईँलाई नैतिकवान् नेता भनेर सम्मान गर्दै छौँ। तर तपाईँको दल, झण्डा र चुनाव चिन्ह फेरिएको छ। काँग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ। नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ।

यो निर्वाचनले तपाईँको जीवन र राजनीतिक भविष्य दुवै रक्षा गरेको छ। बालेन शाहको शपथ समारोहमा जान पनि तपाईँ बाँच्नुपर्थ्यो। तपाईँलाई आत्महत्याबाट जोगाउन हामी सबै लाग्यौँ। तपाईँको दीर्घायु र समाजलाई योगदान दिन सक्ने क्षमताको कामना गर्दछौँ।

बाँचेपछि चोला फेरिन्छ-हिजो काँग्रेस, कहिले स्वतन्त्र, आज रास्वपा। तर हजुरले सर्लाही–४ मा गरेको विकास र परिवर्तनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै थियो र रहने छ।

हार्दिक बधाई र सफल कार्यकालको शुभकामना।

, काँग्रेसका साथमै।