जनता टाइम्स

२८ फाल्गुन २०८२, बिहीबार १६:४६

जनताको पक्षमा बिमा बोर्डले एक्सन : बिमाका बिरामीलाई बाहिर औषधी किन्न नपठाउन सबै अस्पताललाई कडा निर्देशन


काठमाडौं, फागुन २८ । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बिमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था) लाई निर्देशन गरेको छ ।

बोर्डले सबै अस्पताललाई परिपत्र जारी गर्दै बिमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र पठाएर निर्देशन दिइएको जानकारी दिनुभयो । मल्लका अनुसार बिमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न-नगराउन सबै अस्पताललाई परिपत्र गरिएको हो ।

‘केही अस्पतालले बिमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ । गुनासोपछि हामीले त्यसरी बिमितलाई बाहिर औषधि खरिद नगर्न-नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ,’ मल्लले भन्नुभयो ।

अस्पतालले बिमितसँग बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेको गुनासो आएको मल्लको भनाई छ ।

उहाँले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने विषयमा सचेतसमेत गराइएको जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार ५ सय रुपैयाँ बराबरको योगदानको आधारमा एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।