जनता टाइम्स

१ चैत्र २०८२, आईतवार २०:०५

समानुपातिकका ९ सिटमा नेकपाको नाम टुंगो, माधव नेपाल समूहलाई दुई सिट मात्र


काठमाडौं, चैत १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ प्राप्त ९ सिटका लागि बन्दसूचीबाट नाम छनौट गरी निर्वाचन आयोगमा पठाएको छ।

पार्टीले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई नाम टुंगो लगाउने जिम्मा दिएको थियो। सोही जिम्मेवारीअनुसार विभिन्न क्लष्टरका ९ जनालाई निर्वाचित घोषणा गरियोस् भन्ने विवरण आयोगमा बुझाइएको हो।

आयोगमा पठाइएको सूचीअनुसार सहसंयोजक नेपाल पक्षले दुई सिट मात्रै पाएको छ। सूचीमा मुस्लिम क्लष्टर भने खाली रहेको जनाइएको छ।

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा गरी ९ जनाको नाम आयोगमा पठाएको छ।

यीमध्ये सहसंयोजक नेपाल समूहका उम्मेदवारबाट खस–आर्य पुरुषतर्फ प्रमेश हमाल र दलित पुरुषतर्फ गणेश विश्वकर्मा मात्र चयन भएका छन्। अन्य उम्मेदवार संयोजक प्रचण्ड पक्षसँग निकट मानिने नेताहरू रहेका छन्।

समानुपातिक सिटको टुंगो लगाउने क्रममा पार्टीभित्र आन्तरिक समीकरण र विभिन्न क्लष्टरको प्रतिनिधित्वलाई ध्यानमा राखिएको नेकपा स्रोतले जनाएको छ। निर्वाचन आयोगले प्रक्रिया पूरा भएपछि उनीहरूलाई औपचारिक रूपमा निर्वाचित घोषणा गर्नेछ।