काठमाडौं, चैत ४ । नेपाली कांग्रेसले समानुपातिक सांसद बनाउँदा नेताहरूकै परिवार र आसेपासेलाई मात्रै समावेश गरी सर्वोत्कृष्ट काम गरेको उदाहरण पेस गरेको छ । समानुपातिक सांसद छान्दा सुध्रिएको कांग्रेसको नारा दिनुभएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले यस्तो विधि अपनाएको हो ।
निर्वाचन आयोगले सोमवार साँझ सार्वजनिक गरेको सूचीमा कांग्रेसबाट परेका समानुपातिक सांसदको सूचीमा सभापतिको ससुरा बादेखि उपसभापतिका जेठीसामू, नेतापत्नी र भाञ्जाभाञ्जीसम्म परेका छन् । पछाडि पारिएका दलितदेखि मुस्लिमसम्मका नाम कटाएर आफ्नाको हालीमुहाली गरी गगन थापा नेतृत्वको कांग्रेसले सुध्रिएको प्रमाण पेस गरेको हो ।
गत पुस २७ मा विशेष महाधिवेशन गरेर निर्वाचन आयोगको सेटिङमार्फत सभापति शेरबहादुर देउवासहित सबै शीर्ष नेतामाथि ‘कू’ गरेर पार्टी कब्जा गर्नुभएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले इतिहासमै सर्वोत्कृष्ट सूची चयन भएको दाबी गर्नुभएको छ । सभापति थापाले कांग्रेसको इतिहासमै सर्वाेत्कृट समानुपातिक सांसद चयन भएको दावा गरिरहँदा उहाँकै ससुरा अर्जनुनरसिंह केसी ७८ वर्षको उमेरमा पछाडि पारिएको कोटामा लैजानु व्यवस्था गरिएको समानुपातिकबाट सांसद बन्नुभएको छ ।
पञ्चायतदेखि बहुदलसम्म रजगज गर्नुभएका केसी गगनको ससुरा भएकै आधारमा मात्र समानुपातिकबाट संसदमा जानुभएको छ । केसी कांग्रेसभित्रका प्रभावशाली र हैसियतवाला कांग्रेस नेता भएको कारण पनि पछाडि पारिएको समानुपातिकबाट कोटाबाट संसद् छिर्नेहरूको सूचीमा नपर्ने नेता हुनुहुन्छ । तर गगनले सर्वोत्कृष्ट निर्णय लिएर ‘वृद्ध ससुरा बा’ सांसद बनाएरै छाड्नु भएको छ ।
सभापति गगनलाई दह्रो साथ दिनुभएका उपसभापति विश्वप्रकाश शर्मा पनि उहाँकै जस्तो उदाहरणीय काम गर्न सफल हुनुभएको छ । उहाँले पनि यस पटक सर्वोत्कृष्ट निर्णयका साथ जेठीसासूलाई समानुपातिकबाट संसदमा छिराउनु भएको छ ।
सभापति शेरबहादुर देउवाकै पालामा सिफारिस भएको भन्दै विश्वले जेठीसासूलाई सांसद बनाउनु भएको हो । देउवा सभापति रहँदा महामन्त्री रहनुभएका शर्माले चर्को बोलेरै नाम हाल्न लगाउनु भएको थियो । कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी सुशीला ढकाल नातामा उपसभापति शर्माका जेठी सासू हुनुहुन्छ ।
यस्तै पूर्वराष्ट्रपति तथा तत्कालीन महामन्त्री डा. रामबरण यादवका छोरालाई पनि पछाडि पारिएका समुदायको कोटाबाट सुध्रिएको कांग्रेसले समानुपातिक सांसद बनाएको छ । गणतन्त्र नेपालका संस्थापक राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादवलाई कांग्रेसले समानुपातिक सांसद बनाएर इतिहासमै सर्वोत्कृष्ट काम गरेको छ ।
नेपाली कांग्रेसमा २० जना समानुपातिक सांसद छनोट गर्दा विवाद देखिएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५ महिला र ५ जना पुरुषतर्फका समानुपातिक बन्दसूचीमा रहेको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाएको सूचीमा विवाद देखिएको हो ।
गत पुस १५ मा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा बुझाएको ११० जना उम्मेदवारको समानुपातिक बन्दसूचीबाट २० जना सांसदको छनोट गरी वर्तमान सभापति गगन थापाले निर्वाचन आयोगमा पठाउँदा भद्रगोल देखिएको छ। कांग्रेसले खस–आर्य महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलियाको नाम सिफारिस गरेको छ भने पिछडिएको क्षेत्रबाट कालीबहादुर सहकारी र खसआर्य पुरुषतर्फ अर्जुननरसिंह केसीले मौका पाएका छन्।
यस्तै आदिवासी जनजातितर्फको ६ जनाको कोटामा महिलातर्फ गीताकुमारी सेन्दाङ, गङ्गालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम पर्दा पुरुषतर्फ पूर्वमन्त्री भीष्मराज आङ्देम्बे र अपाङ्गता भएका व्यक्तिबाट मदनकृष्ण श्रेष्ठ छनोटमा पर्नुभएको छ ।
मधेसी क्लस्टरबाट महिलातर्फ निनुकुमारी कर्ण, रेखाकुमारी यादव र पुरुषतर्फ चन्द्रमोहन यादवको नाम परेको छ । यता दलित क्लस्टरबाट तीन महिला हरिनादेवी कामी, पवित्रा विक र मन माया विक अट्नुभएको छ भने थारु क्लस्टरबाट प्रमीलाकुमारी गच्छदार र मुस्लिम क्लस्टरबाट शाहजान खातुन सांसद बन्नुभएको छ ।
कोसी प्रदेशबाट झापाकी सुशीला ढकाल, मन माया विक, मोरङकी रुक्मिणीदेवी कोइराला, प्रमीलाकुमारी गच्छदार, ताम्लेजुङकी गीताकुमारी सेन्दाङ, सोलुखुम्बुकी रीना उप्रेती, गीता गुरुङ र पाँचथरका भीष्मराज आङ्देम्बे गरी ८ जना सांसद बन्नुभएको छ । यस्तै गगन निर्वाचन लड्नुभएको मधेस प्रदेशबाट महोत्तरीकी निनुकुमारी कर्ण, रेखाकुमारी यादव र धनुषाका चन्द्रमोहन यादव र रौतहटकी शाहजान खातुनको नाम छ।
बागमती प्रदेशबाट नुवाकोटका अर्जुननरसिंह केसी, धादिङकी सीता थपलिया, मकवानपुरकी पवित्रा विक, भक्तपुरकी गङ्गालक्ष्मी अवाल र मदनकृष्ण श्रेष्ठ गरी ५ जनाले मौका पाउनुभएको छ । गण्डकीबाट बाग्लुङकी रेनुका काउचाको नाम पर्दा लुम्बिनी निल भएको छ । कर्णाली प्रदेशबाट कालिकोटका कालीबहादुर सहकारी र सुदूरपश्चिम प्रदेशबाट डडेल्धुराकी हरिनादेवी कामीको नाम छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक–एक जनाको नाम परेको छ।
चैत १ गते पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सातै प्रदेश समेट्ने गरी क्लस्टरको पहिलो नम्बरमा रहेकाहरूलाई प्राथमिकता दिन केही पदाधिकारीले प्रस्ताव राखेका थिए। सभापति थापाले उक्त प्रस्ताव अनुसार निर्णयमा लिने बचन पनि दिएका थिए । तर, निर्णय लिँदा विशेष महाधिवेशनमा आफ्नो पक्षमा उभिएकाहरूलाई सांसद बनाउन लाग्दा कोसी प्रदेशबाट ८ जना सांसद बनाउँदा लुम्बिनीबाट एक जना पनि समेटेन । यता मोरङको क्षेत्र नम्बर ६ बाट रुक्मिणीदेवी कोइराला र प्रमीलाकुमारी गच्छदार सांसद बन्दा लुम्बिनी प्रदेशका १२ जिल्ला समानुपातिक सांसदमा निल भएको गगन समूहकै नेताको भनाई छ ।
कांग्रेसले बुझाएको समानुपातिक सांसदको बन्दसूचीमा पिछडिएको क्षेत्रमा विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन्। तर, कांग्रेस सभापति थापाले विशेष महाधिवेशनमा साथ दिएका सहकारीलाई सांसद बनाउन पिछडिएको क्षेत्रमा उम्मेदवारी नदिएका पिछडिएको क्षेत्र (कालिकोट) का सहकारीको नाम सिफारिस गरेका छन् । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका सहकारीलाई सांसद बनाउन खोज्दा दलिततर्फ पुरुषको पहिलो नम्बरमा रहेका मानबहादुर नेपालीलाई छुटाइएको छ।

देउवा समूहका पूर्वकेन्द्रीय सदस्य नेपालीलाई रोक्दा कांग्रेसमा दलितबाट पुरुष सांसद नहुने अवस्था बनेको छ । यस्तै सभापति थापाले पटक पटक अवसर पाएका ससुरा अर्जुन नरसिंह केसीलाई खसआर्यबाट सांसद बनाउँदा देउवा समूहबाट दलित कलस्टरको पहिलो नम्बरमा रहेका नेपाली, थारु क्लस्टरको पहिलो नम्बरमा रहेका मिनराज चौधरी, मुस्लिमतर्फ पहिलो नम्बरमा रहेका अमिल अख्तर मियालाई छुटाइएपछि नेतृत्वको नियत नै खराब भन्ने भाष्य बनेको छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची बनाउँदा केसीको नाम खस–आर्यको पहिलो नम्बरमा राखिएकोमा तत्कालीन महामन्त्री थापामाथि प्रश्न उठेको थियो। सभापति थापाले त्यतिबेला केसीलाई आफ्नो चाहना विपरीत समानुपातिक सूचीमा राखिएको प्रष्टीकरण दिनुभएको थियो । ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु– यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो,’ थापाले भन्नुभएको थियो ।
अहिले समानुपातिक सांसद हुने गरी बन्दसूचीबाट २० सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा थापाले आफ्नो ‘चाहना विपरीत’ को उच्च चाहनालाई रोक्न सक्नुभएन । दलित, थारल र मुस्लिम क्लस्टरको पहिलो नम्बरमा रहेका पुरुष उम्मेदवारलाई छुटाएर केसीको नाम सभापति थापाले छान्नुभएको हो । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको राजनीति सुरु गर्नुभएका केसी बिचैमा पञ्चायतमा प्रवेश गर्नुभएको थियो । २०३८ सालमा राष्ट्रिय पञ्चायतमा पहिलो चुनाव जितेर उहाँ राज्यमन्त्री समेत हुनुभयो । २०४३ सालमा दोस्रोपटक भएको पञ्चायतकै चुनाव हारेपछि २०४५ सालमा जिल्ला पञ्चायतको सभापति बन्नुभएका केसी २०४६ सालपछि कांग्रेस फर्किएपछि सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसक्नुभएको छ ।
२०४८ र २०५१ सालको निर्वाचनमा नुवाकोटबाट निर्वाचित केसी २०६४ सालमा पराजित हुनुभएको र २०७० सालको चुनाव जितेर तेस्रो पटक संसदमा पुग्नुभएको स्थापित नेता हुनुहुन्छ । शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकास मन्त्री जस्ता कमाऊ र प्रभावशाली मन्त्रालयको नेतृत्व गर्नुभएका केसी पाँचौँ पटक संसदमा पुग्नुभएको छ । कांग्रेसबाट चार पटक चुनाव जितेका र दुई पटक चुनाव हारेका केसी अहिले ज्वाइँ सभापति भएको मौकामा चौका हान्दै समानुपातिकबाट सांसद बन्नुभएको छ ।
कांग्रेसका समानुपातिक सांसदमा सिफारिस भएका केसी पार्टी सभापति गगन थापाका ससुरा र चन्द्रमोहन प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुनुहुन्छ । यस्तै कांग्रेसबाटै खसआर्य महिलातर्फ कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती सांसद सिफारिस भएकी रीना उप्रेतीको नाम सिफारिस हुँदा मधेसी कोटामा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी निनुकुमारी कर्णले मौका पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्