रामेछाप, चैत ५ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित चरी भिर क्षेत्रमा गए राति लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
स्थानीयका अनुसार ‘केदारे’ भन्ने स्थानबाट राति करिब १० बजेदेखि सुरु भएको आगो तीव्र रूपमा फैलिँदै गएको छ। डढेलोका कारण माथिल्लो क्षेत्रका केही घरहरू जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
उमाकुण्ड गाउँपालिका वडा कार्यालय–१का अनुसार आगलागी नियन्त्रणका लागि वडाध्यक्षसहितको टोली घटनास्थलतर्फ खटिएको छ। वडा सचिव बिस्टका अनुसार आगो कसले र किन लगाएको हो भन्नेबारे हालसम्म कुनै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
गुम्देल ठुलाे क्षेत्र वनले ढाकिएको हुँदा डढेलोका कारण जडीबुटी, वनस्पति तथा जङ्गली जनावरमा ठुलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
डढेलो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा प्रयास भइरहेको भए पनि आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।













प्रतिक्रिया दिनुहोस्