जनता टाइम्स

६ चैत्र २०८२, शुक्रबार १७:१९

घण्टीमा भोट हाल्लने केन्द्रीय सदस्यलाई आँखा चिम्लेर कारबाही गर्छौँ, पार्टी पुनर्गठन अभियान अगाडि बढाउँछौँ : प्रचण्ड


काठमाडौं, चैत ६ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्यहरूले घण्टी चिन्हमा भोट हालेको पाइए कारबाही गरिने चेतावनी दिनुभएकाे छ ।

जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा बोल्दै उहाँले पार्टीभित्र अनुशासन कायम गर्न त्यस्ता सदस्यमाथि कडा कदम चालिने बताउनुभयो । उहाँका अनुसार घण्टी चिन्हमा मतदान गर्नेहरूमाथि कारबाही गर्दै पार्टी पुनर्गठन अभियान अगाडि बढाइनेछ ।

उहाँले करिब ५० प्रतिशतसम्म केन्द्रीय तहका नेताहरूले नै घण्टीमा भोट हालेको रिपोर्ट आएको उल्लेख गर्नुभयो । विशेषगरी जनवर्गीय सङ्गठनका केन्द्रीय नेताहरूबाटै यस्तो प्रवृत्ति देखिएको उहाँको भनाइ छ । ‘तपाईंहरूको जनवर्गीय सङ्गठनका केन्द्रीय नेताहरूले नै घण्टीमा भोट हालेको रिपोर्ट आएको छ,’ उहाँले भन्नुभयो, ‘को-को आफ्नो क्षेत्रमा गएनन्, कसले भोट हालेनन् र कसले घण्टीमा मतदान गरे भन्ने विस्तृत विवरण दिनुहोस् ।’

उहाँले प्रमाणसहित विवरण पेस गर्न निर्देशन दिँदै त्यस्ता व्यक्तिमाथि निःसन्देह कारबाही गरिने बताउनुभयो । ‘ठोस प्रमाणसहित ल्याउनुस्, कसले घण्टीमा भोट हालेको हो भन्ने स्पष्ट भएपछि हामी आँखा चिम्लेर कारबाही गर्छौँ,’ उहाँले भन्नुभयो ।

प्रचण्डले पार्टीलाई सुदृढ बनाउन अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दै पार्टी पुनर्गठनको प्रक्रिया यहीँबाट सुरु हुने धारणा राख्नुभयो । साथै निर्वाचन परिणामपछिका सुझाव र आलोचनालाई संस्थागत रूपमा पार्टीको सचिवालय तथा अन्य आधिकारिक निकायमार्फत् निर्णयमा लैजाने पनि उहाँले जानकारी दिनुभयो ।