जनता टाइम्स

८ चैत्र २०८२, आईतवार ११:४५

एकैदिन तोलामा १२ हजार ५ सयले घट्यो सुनको भाउ, सातामै २७ हजार ४ सय रुपैँयाले गिरावट


काठमाडौं, चैत ८ । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस अनुसार एक दिनमै सुनकाे भाउमा उल्लेख्य गिरावट आएको हो । पछिल्लो एक साताको अवधिमा मात्र सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटिसकेको छ ।

गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको रेकर्ड रहेको छ ।

अन्तर्राष्ट्रिय बजारका कारण पनि सुनको मूल्यमा उतारचढाव देखिएको बताइएको छ । तेलको मूल्य वृद्धि भएसँगै विभिन्न मुलुकहरूले खरिदका लागि बढी अमेरिकी डलर व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले डलरको माग र मूल्य बढाएको छ ।

डलरको माग बढेसँगै सुन बिक्रीमार्फत डलर सञ्चिति बढाउने प्रवृत्ति देखिएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्दै गएको र त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।