जनता टाइम्स

११ चैत्र २०८२, बुधबार २०:१७

भदौ २३–२४ घटनामा उच्च सुरक्षा अधिकारीमाथि कारबाही सिफारिस, आयोगको प्रतिवेदन सार्वजनिक


काठमाडौं, ११ चैत्र । गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले उच्च तहका सुरक्षा अधिकारीहरूमाथि विभागीय तथा फौजदारी कारबाही गर्न सिफारिस गरेको छ।

जनता टाईम्सले प्राप्त गरेको प्रतिवेदनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग का विभिन्न तहका अधिकारीहरूलाई कारबाही गर्न सुझाव दिइएको छ। साथै चार जना सैनिक अधिकारीलाई समेत कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रहरीतर्फ एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा तथा एसपी ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरीतर्फ एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरिएको छ।

आयोगले तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल तथा राअवि प्रमुख हुतराज थापामाथि भने फौजदारी कसुरअन्तर्गत छुट्टै कारबाही गर्नुपर्ने औंल्याएको छ।

सैनिकतर्फ राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार तथा संसद् परिसरमा खटिएका सुरक्षा टोलीका प्रमुखहरू—मनोजकुमार वैदवार, दिवाकर खड्का, गणेश खड्का र सन्तोष ढुंगेलमाथि पनि कारबाही सिफारिस गरिएको छ।

आयोगले सम्बन्धित कानुनअनुसार कारबाही अघि बढाउन सरकारलाई सुझाव दिएको छ भने प्रतिवेदनले सुरक्षा संयन्त्रको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

https://drive.google.com/file/d/1BSh4qXd4EhyBmAvWJcbfiAuTD0TTFTYN/view