काठमाडौं, चैत १४ । नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सचिवालय बैठक बसेर विरोध कार्यक्रम तय गरेको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने भोलि, चैत्र १५ गते, १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ।
सचिवालयले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने योजना बनाएको छ र नागरिक समाज तथा आम जनसमुदायसँग सहकार्य कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। बस्नेतले बैठकले तय गरेको कार्यक्रमले पार्टीले कानुनी र शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने बताउनुभएकाे छ ।
भदाै २३ र २४ काे घटनाकाे अनुसन्धान गर्ने भन्दै आज बिहानीपख एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारकाे निर्देशनमा प्रहरीले पक्राउ गरेकाे छ ।














प्रतिक्रिया दिनुहोस्