जनता टाइम्स

१५ चैत्र २०८२, आईतवार १५:०२

प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइ माग्दै रामेछापमा एमाले निस्कियो सडकमा


रामेछाप, चैत १५ । राजनीतिक प्रतिशोधको आरोपसहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा नेकपा एमाले रामेछापले आइतबार विरोध जनाएको छ।
एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको हो। पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली सरकारविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो।

र्‍यालीमा सहभागीहरूले ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरेका थिए। त्यसपछि एमालेका नेताहरूले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई विरोधपत्र हस्तान्तरण गरेका थिए। उक्त विरोधपत्र जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले बुझाउनुभएको हो।

पार्टी सचिव प्रकाशकुमार कार्कीले विधिसम्मत र निष्पक्ष छानबिनमा पार्टीको कुनै आपत्ति नरहेको तर गैरन्यायिक रूपमा गरिएको गिरफ्तारीको विरोधमा विरोधपत्र बुझाइएको जानकारी दिनुभयो।

विरोधपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयको गेटमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सरकारको कदमप्रति आपत्ति जनाउनुभयो। उहाँले राज्यका संयन्त्रमाथि राजनीतिक हस्तक्षेप बढेको आरोप लगाउँदै सबै पक्ष सतर्क हुनुपर्ने बताउनुभयो।

त्यसै गरी, जिल्ला अध्यक्ष कडरियाले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै जनभावना विपरीत कदम नचलाउन चेतावनी दिनुभयो। उहाँले आवश्यक परे देशका लागि सङ्घर्ष गर्न पार्टी तयार रहेको पनि उल्लेख गर्नुभयो। कडरियाले राष्ट्रघाती प्रधानमन्त्रीलाई नेपाली जनताले माटोमुनि गाडेको कुरा नबिर्सन प्रधानमन्त्री बालेनलाई चेतावनी दिनुभयो ।

सम्पत्ति सुद्धिकरणको कुरा गर्ने बालेन्द्रलाई सो मुद्दा खेपिरहेका आफ्नै पार्टी अध्यक्ष रवि लामिछानेलाई गिरफ्तार गरेर देखाउन पनि उहाँले चुनौती दिनुभयो । कडरियाले भदौ २३ को कुरा गरिरहँदा भदौ २३ र २४ को घटना गराउने नाइके बालेन्द्र साहको हातमा हतकडी लगाउने कानुन नेपालमा भएको कुरा बिर्सन आग्रह गर्नुभयो ।

विरोध कार्यक्रममा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, जनसंगठनका नेताहरू लगायतका अगुवा नेताहरूको सहभागिता रहेको थियो ।