काठमाडौं, चैत १५। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालन हुँदै आएका कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको छ।
विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रम रोक्न मन्त्रालयले निर्णय गरेको हो। मन्त्रालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा समेत बाधा पुर्याउने र अभिभावक तथा विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थप्ने गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विभिन्न संस्थाहरूले ‘इन्ट्रान्स तयारी’ र ‘ब्रिज कोर्स’का नाममा कार्यक्रम सञ्चालन गर्दै आएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक देखिएको उल्लेख छ। ‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा एवम् ब्रिज कोर्सका नामका कार्यक्रमहरू सञ्चालन गर्दै आएको पाइएको छ, यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ’, सापकोटाले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीस्तरीय निर्णयअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिनेछ। उक्त निर्णय चैत १३ गते नै भएको मन्त्रालयले जनाएको छ।
साथै, यस्ता कार्यक्रम सञ्चालन भए–नभएको अनुगमन गर्न तथा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।












प्रतिक्रिया दिनुहोस्