जनता टाइम्स

१७ चैत्र २०८२, मंगलवार १०:३१

लेबनानमा मारिए तीन जना शान्ति सेना


काठमाडौं, चैत १७ । लेबननमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका तीन जना शान्ति सैनिक मारिएका छन्।

सोमबार दक्षिणी लेबननमा शान्ति सैनिक सवार एउटा गाडीमा आक्रमण हुँदा २ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। बिष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन। विस्फोटमा परी २ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्का एक जनाको अवस्था मध्यम छ।

मारिएका दुवै शान्ति सैनिक इन्डोनेशियाबाट खटिएका शान्ति सैनिक रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। उनीहरू युनिफिलका दुई आधारबीच यात्रा गरिरहेका बेला दक्षिणी सहर बानी हाइयान नजिक विस्फोट भएको थियो।

त्यसअघि आइतबार भएको आक्रमणमा पनि एक जना शान्ति सैनिकको मृत्यु भएको थियो। ती शान्ति सैनिक पनि इन्डोनेसियाकै रहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

आइबार अद्चित अल-कुसैर नजिक युनिफिलको एक चौकी आसपास प्रोजेक्टाइल विस्फोट हुँदा ती शान्ति सैनिकको मृत्यु भएको थियो। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

यसरी चौबीस घन्टाको अवधीमा लेबननमा संयुक्त राष्ट्रसंघले खटाएका तीन शान्ति सैनिकको मृत्यु भएको हो।