जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार २१:४१

एसईईको सम्पूर्ण तयारी पूरा : भोलिदेखि परीक्षा सुरु हुँदै, ५ लाख १२ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने 


काठमाडौं, चैत १८ । राष्ट्रिय परीक्षा बोर्डले भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा ७ जना अन्य परीक्षार्थी रहेका छन् ।

यस पटक पनि नेपालभित्र मात्रै नभई जापानमा पनि परीक्षा सञ्चालन गरिने भएको छ । बोर्डका अनुसार जापानमा २३ जना परीक्षार्थीले एसईई परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । सबै परीक्षा केन्द्रमा आवश्यक जनशक्ति, प्रश्नपत्र, उत्तरपुस्तिका तथा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी सम्पन्न गरिएको जानकारी दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन सम्बन्धित सबै निकायसँग समन्वय गरिएको जनाएको छ । साथै, परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको पनि बोर्डले उल्लेख गरेको छ ।

बोर्डले सबै परीक्षार्थीलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै परीक्षा आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।