काठमाडौं, चैत १९ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा १५–१५ रुपैयाँले वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित मूल्य समायोजनअन्तर्गत नयाँ दर लागू गरिएको हो। नयाँ मूल्यसूचीअनुसार आज रातिदेखि उपभोक्ताले पेट्रोल र डिजेल खरिद गर्दा प्रतिलिटर १५ रुपैयाँ बढी तिर्नुपर्नेछ।
मूल्यवृद्धिसँगै सार्वजनिक तथा निजी यातायातको भाडादरमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको ढुवानी खर्च बढ्न सक्ने भएकाले बजार मूल्यमा समेत असर पर्ने देखिएको छ।
नेपाल आयल निगमले नयाँ मूल्य आज राति १२ बजेपछि देशभर लागू हुने जनाएको छ।
नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । ती क्षेत्रमा यस अघि प्रतिलटर मूल्य १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।
यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको छ ।













प्रतिक्रिया दिनुहोस्