काठमाडौं, चैत २२ । प्रहरी हिरासतमा रहनुभएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा दिनुभएको बयानको नाममा फेक समाचार कारखाना सञ्चालन गरेको तथ्य खुलेको छ ।
प्रहरीको निगरानीमा त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका एमाले अध्यक्ष ओलीले बयानमा दिँदै नदिएको र भन्दै नभनेको विषयलाई सरकारले विभिन्न मिडियामा पठाएर अफवाह फैलाउने काम गरेको तथ्य खुलेको हो ।
पूर्वप्रधानमन्त्री ओली गत चैत १४ गते बिहानैबाट प्रहरी हिरासतमा रहनु भई चिकित्सकको निगरानीमा त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएको छ । प्रहरीले ओलीलाई थप अनुसन्धान गर्न भन्दै आइतबार मात्रै ५ दिनको म्याद थप गरेको छ ।
ओलीसँग प्रहरीले अस्पतालमै लिएको बयान र अदालतमा दिएको बयानको नाममा आइतबार विभिन्न समाचार सार्वजनिक भएको थियो । तर ओलीको बयानका नाममा बिहान आएका सबै सूचना बयानभन्दा अनुमानमा आधारित र नियोजित अफवाह सिर्जनाका लागि भएको पाइएको हो ।
बयानमा ओलीले नेपाली सेनाको विषयमा कहीँ कतै उल्लेख समेत नगरेको अवस्थामा ‘सेनाले सहयोग नगरेको, सेनाको साथ नपाएकोले राजीनामा दिएको’ भन्दै आफैले बयानको समाचार पठाएर षडयन्त्र गरिएको पाइएको छ ।
ओलीको सचिवालयले बयानमा हुँदै नभएको कुरा समाचारका रूपमा आएको जानकारी गराइसकेको छ । तर सरकारी संयन्त्रले हिरासतमा रहेको बेला बोल्न नमिल्ने र बोल्ने अवसर पनि नहुने भएकोले केपी ओली र सेनाको विषयमा नियोजित रूपमा दुष्प्रचार गरेको बताएको छ । ओलीविरुद्धको यो मिसनमा गृह मन्त्रालय आफै संलग्न रहेको सचिवालयको आशङ्का छ ।













प्रतिक्रिया दिनुहोस्