काठमाडौं, चैत २५। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित समिति सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
हिजो चैत २४ गते सम्पन्न समिति सभापतिको निर्वाचनमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्विरोध निर्वाचित हुनुभएको थियो ।
शपथग्रहण समारोहमा अध्यक्ष दाहालले नवनिर्वाचित सभापतिहरूलाई बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित सभापतिहरूले आ–आफ्नो समितिमार्फत राष्ट्रिय सभाको विधायन, नीति निर्माण तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सभाका समितिहरू संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने प्रमुख संयन्त्रका रूपमा रहने भएकाले नयाँ नेतृत्वसँगै समितिहरूको काम थप सक्रिय र परिणाममुखी हुने विश्वास व्यक्त गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्