काठमाडौं, वैशाख ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्वासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले संवादबिनै बल जफत गर्नु राम्रो नहुने चेतावनी सरकारलाई दिनुभएको हो ।
बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको उहाँले बताउनु भयो । सरकारले शनिवारबाट सुकुम्वासी बस्ती खाली गर्ने भन्दै माइकिङ गरेर धम्क्याउने कार्य गरेर गैर लोकतान्त्रिक चरित्र देखाएको कांग्रेसको भनाई छ ।
‘चाहे सुकुम्वासीको कुरो होस चाहे विद्यार्थीको कुरो होस चाहे अन्य विषय किन नहुन । संवाद, सहकार्य वार्ताबाटै मात्रै यी कुराहरू मुठभेडबाट होइन समाधान खोज्नुपर्छ भन्नेमा हाम्रो प्रष्ट धारणा छ,’ प्रवक्ता चालिसेले भन्नुभयो, ‘कुरा सुन्नु पर्यो, जनताको आवाज सुन्नु पर्यो अनि समाधानको अगाडि जानु पर्यो । समाधानपछि उपाय केही लागेन भने सरकारले हिंसा प्रयोग गर्ने सरकारले बल जफत गर्ने भन्ने कुरा त अन्तिम विकल्प हो नि ।’
चालिसेले वार्ता नै नगरी सरकारले बल प्रयोग र धम्क्याउने काम लोकतान्त्रिक चरित्र नभएको पनि बताउनु भयो । ‘अन्तिम विकल्पलाई बिना वार्ता बिना संवाद पहिलै विकल्पको रूपमा प्रयोग गर्नु भनेको यो सरकारको बचपना हो यो अनुभवको अभाव हो, यो अपरिपक्वता हो ।’













प्रतिक्रिया दिनुहोस्