काठमाडौं, वैशाख १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुकुमबासी तथा अव्यवस्थित बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन ६ बुँदे सर्कुलर जारी गरेको छ।
केन्द्रले स्थानीय तहहरूलाई सम्बोधन गर्दै जोखिमयुक्त तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्तीहरूको व्यवस्थापन तथा स्थानान्तरणका क्रममा विद्यार्थीहरू विद्यालय पहुँच, नियमित उपस्थिति, शैक्षिक सामग्री र सुरक्षित वातावरणबाट वञ्चित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहजीकरण गर्न निर्देशन दिएको हो।
यस्ता छन् निर्देशनका बुँदाः
१. विद्यार्थी स्थानान्तरण सहजीकरणः प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयहरूमा स्थानान्तरण गर्न आवश्यक समन्वय गरी सहज वातावरण सिर्जना गर्ने ।
२. प्रगति विवरण पेश गर्नेः विद्यार्थी स्थानान्तरण समायोजन तथा शिक्षण सिकाइको निरन्तरता सम्बन्धी कार्यहरूको प्रगति विवरण यस केन्द्रमा पठाउने व्यवस्था मिलाउने ।
३. कक्षा १२ का परीक्षार्थीका लागि सहजीकरणः कक्षा १२ का परीक्षार्थीहरूलाई तोकिएको परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा आउन जान आवश्यक यातायात तथा अन्य सहजीकरणको व्यवस्था मिलाउने ।
४. विद्यालय समायोजन तथा दिगो व्यवस्थापनः अव्यवस्थित वस्तीवाट प्रभावित विद्यालयहरूको अवस्थाको मूल्याङ्कन गरी दिगो रूपमा स्थानान्तरण गर्ने वा नजिकका उपयुक्त विद्यालयहरूमा समायोजन गर्ने सम्बन्धमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्ने ।
५. समन्वय र सहकार्यः उपर्युक्त कार्यहरू कार्यान्वयन गर्न विद्यालय, अभिभावक तथा अन्य सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्ने ।
६. अन्यः उल्लेखित कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरी विद्यार्थीहरूको शिक्षामा निरन्तरता कायम राख विशेष ध्यान दिनुहुन अनुरोध छ । साथै, कार्यान्वयनको क्रममा देखा पर्ने समस्या तथा सुझावहरू यस केन्द्रमा उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ ।
केन्द्रले सबै स्थानीय तहलाई उक्त निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै विद्यार्थीहरूको पठनपाठनमा अवरोध नआओस् भन्नेमा विशेष ध्यान दिन भनेको छ।













प्रतिक्रिया दिनुहोस्