काठमाडौं, वैशाख १६ । काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई दिँदै आएको खानाको व्यवस्था अचानक बन्द गरेपछि व्यवस्थापनको जिम्मेवारी अब निजी संस्थातर्फ सरेको छ।
कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा आश्रय लिइरहेका थापाथली र गैरीगाउँका ३३ परिवारका १४७ जनालाई बुधबार बिहानदेखि महानगरले खाना खुवाउन छाडेको हो। यसअघि चार दिनसम्म महानगरले नै उनीहरूको खानाको व्यवस्थापन गर्दै आएको थियो।
सहरी विकास मन्त्रालयका अनुसार उक्त होल्डिङ सेन्टरमा बालबालिका, गर्भवती, सुत्केरी तथा अपांगता भएका व्यक्तिहरूसमेत रहेका छन्। संवेदनशील समूहसमेत बसोबास गरिरहेको अवस्थामा महानगरले जिम्मेवारी छाडेपछि व्यवस्थापनबारे प्रश्न उठेको छ।
महानगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार राधास्वामी सत्संगले नै सेवा गर्न चाहेको भन्दै खानाको जिम्मेवारी उनीहरूलाई हस्तान्तरण गरिएको हो। सत्संगले कम्तीमा एक सातासम्म खाना खुवाउने जनाएको छ भने त्यसपछिको व्यवस्थापनबारे पुनः छलफल हुने बताइएको छ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रबाट डोजर चलाएर विस्थापित गरिएका सुकुम्बासीमध्ये केहीलाई सत्संगमा र बाँकीलाई विभिन्न होटलमा राखिएको छ। तर, सुरुवाती दिनदेखि नै आधारभूत सेवाको अभावको गुनासो आइरहेको अवस्थामा अब खाना व्यवस्थापनमा आएको परिवर्तनले थप अन्योल सिर्जना गरेको छ।
सरकार र महानगरको जिम्मेवारी निजी संस्थामा सारिएको यो कदमले सुकुम्बासी व्यवस्थापनको दीर्घकालीन योजना र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।













प्रतिक्रिया दिनुहोस्