काठमाडौं, वैशाख १८। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेका अतिक्रमित तथा सुकुम्बासी बस्ती हटाउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रोक्न माग गरेका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै संस्थाले हालै काठमाडौं उपत्यकाको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका नदी किनारका बस्तीहरूमा भइरहेको जबरजस्ती निष्कासनप्रति ध्यानाकर्षण भएको जनाएका छन्। यस्ता कार्यले गरिब, भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकमा त्रास, भय र असुरक्षा बढाएको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा देशभरका स्थानीय सरकारहरूलाई भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण माग गर्दै सुरक्षा निकायबाट भइरहेको अस्वाभाविक सक्रियता र बस्ती उठाउन दिइँदै आएको दबाबप्रति पनि आपत्ति जनाइएको छ।
हालै बर्दिया जिल्लामा नेपाली सेनाले तथ्याङ्क माग गरेको प्रसंग उल्लेख गर्दै संघ र महासंघले राज्यका निकायबीच समन्वयको कमी देखिएको टिप्पणी गरेका छन्। लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अवस्था दीर्घकालीन रूपमा हितकर नहुने चेतावनी समेत दिइएको छ।
संयुक्त विज्ञप्तिमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरण अन्तिम चरणमा पुगेको अवस्थामा वैकल्पिक व्यवस्था बिना गरिने विस्थापन न्यायोचित नहुने उल्लेख गरिएको छ।
उनीहरूले संविधान र भूमिसम्बन्धी कानुनअनुसार यस्ता नागरिकको पहिचान, व्यवस्थापन र पुनःस्थापनाको जिम्मेवारी मुख्य रूपमा स्थानीय सरकारको रहेको स्पष्ट पार्दै संघीय सरकार र प्रदेश सरकारको सहकार्य आवश्यक हुने बताएका छन्।
विज्ञप्तिमा भूमिसम्बन्धी (आठौं संशोधन) ऐन, २०७६ को प्रावधान उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारीबीच स्पष्ट भिन्नता छुट्याउनुपर्नेमा जोड दिइएको छ।
वर्षायाम सुरु भइसकेको र विपद्को जोखिम बढिरहेको अवस्थामा तत्काल कुनै पनि प्रकारका जबरजस्ती निष्कासन रोक्न उनीहरूले माग गरेका छन्। साथै, तहगत सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै मानवीय दृष्टिकोणबाट दीगो समाधान खोज्न आग्रह गरिएको छ।
दुवै संस्थाले संविधानको धारा २३२ अनुसार सहकारीता, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई आधार बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र भीमप्रसाद ढुङ्गाना नेपाल नगरपालिका संघका अध्यक्षले हस्ताक्षर गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्