जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १६:१९

बालेन सरकारको डोजर आतंकले अर्काे नागरिकको पनि गयो ज्यान, घर भत्काएको हेर्न सक्दिैन भन्दै बल्खूमा बृद्धले गरेआत्महत्या


काठमाडौं, वैशाख १८। सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउन लागे पछि धमाधम सुकुम्वासीले आत्महत्या गर्न लागेका छन् ।

आज पनि काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा एक पुरुषले वाग्मती नदीमा हाम फालेर आत्महत्या गरेका छन् । सरकारले डोजर चलाएर बस्ती हटाउने क्रममा घरटहरा भत्काइएपछि त्यहाँ बसोबास गर्दै आएका ती पुरुषले शुक्रबार नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोलीले उनको शव वाग्मती नदीबाट बाहिर निकालेको छ ।

प्रहरीका अनुसार बस्तीमा सामान सार्दै गरेका उनले अचानक नदीमा हाम फालेका थिए। उनी  ५५/६० वर्षका इन्द्रबहादुर राई भन्ने व्यक्ति भएकाे बुझिएकाे छ । यसअघि पनि थापाथली सुकुम्वासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो। लगातार यस्ता घटनाहरू दोहोरिन थालेपछि बस्ती विस्थापनको प्रक्रियाले सुकुम्वासी समुदायमा गहिरो मानसिक तनाव र निराशा बढाएको देखिएको छ ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत उपत्यकाका विभिन्न स्थानमा डोजर चलाउँदै आएको छ। तर वैकल्पिक व्यवस्था, पुनर्वास र मानवीय पक्षको पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ।

यस्ता घटनापछि बस्ती हटाउने प्रक्रियामा राज्यको जिम्मेवारी, पुनर्स्थापनाको नीति र संवेदनशीलता सम्बन्धी प्रश्नहरू थप तीव्र रूपमा उठ्न थालेका छन्। उनीहरूको मृत्युको जिम्मा सरकारले लिनु पर्ने माग उठ्न लागेको छ ।