जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार १५:५२

कम्युनिष्टहरुलाई जिरोमा लैजाने षड्यन्त्र भइरहेको छ,पार्टी एकता बाध्यता भइसकेको छ : प्रचण्ड


काठमाडौं,  वैशाख २७।   नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिष्ट पार्टीहरुबीच एकताको वाध्यता बढेको बताउनुभएको छ ।

निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताउनुभयो । प्रचण्डले विचार,राजनीति र संगठनमा कम्युनिस्ट एकता वाध्यात्मक बन्दै गएको बताउँदै अब विगतको कुरा गरेर काम नलाग्ने बताउनुभयो । प्रचण्डले दक्षिण एसियाबाटै कम्युनिष्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिष्टहरुलाई जिरोमा लैजाने षडयन्त्रविरुद्ध हेक्का राखेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

संयोजक प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको दाबी समेत गर्नुभयो । प्रचण्डले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको बताउनुभयो । उहाँले आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिस्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको समेत बताउनुभयो। बालेन सरकारले श्रमजीवी वर्गमाथि, गरिब र निमुखामाथि आक्रमण गरेको आरोप लगाउनुभयो ।