जनता टाइम्स

३० बैशाख २०८३, बुधबार ११:०८

प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ नदिने, अर्थमन्त्री स्वर्णिमलाई तोके वारेस


काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नै नजाने हुनुभएको छ ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेनको निर्देशनमा यो निर्णय भएको हो । यसअघि संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो ।

प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गर्नुभएको छैन । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो । उहाँ नीति कार्यक्रममा समेत नबोल्ने हुनुभएको हो ।

यो घटनाले प्रधानमन्त्री बालेन साहमा जननिर्वाचित सर्वोच्च संस्था सांसदप्रति नै वितिष्णा देखिएको छ । संसदबाटै प्रधानमन्त्री बनेका बालेनले लगातार जननिर्वाचित संस्थालाई अपमान गर्दै आफ्नो वितृष्णा देखाउनु भएको हो । प्रधानमन्त्री बन्ने तर बनाउने संस्थाप्रति पुरै बेवास्ता गरेर बालेनले संसद्को सङ्ख्या केवल सरकार बनाउन भएको र बाँकी सबै काम आफ्नो हुकुम मान्नुपर्ने तर्क गर्न थालेको रास्वपाकै नेताहरूले बताउन थालेका छन् ।

यही क्रममा बालेनले सरकारको नीति तथा कार्यक्रमबारे समेत संसदमा जवाफ नदिई वारेस तोकेर गर्नुसम्मको अपमान गर्नुभएको स्रोतको भनाई छ । संसदमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दै गर्दा सदन र राष्ट्रप्रमुख दुवैको अपमान गरेर हिँड्नुभएका प्रधानमन्त्री बालेनले नीति कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ पनि आफले नदिने निर्णय गरेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई वारेस तोक्नुभएको छ ।

संसद्को कामै छैन भन्ने निष्कर्षका साथ बालेनले यस्तो निर्णय लिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनताटाइम्स डटकमलाई बतायो। ‘उहाँ संसद्को काम आफैले गर्ने काममा सघाउने हो, त्यहाँ गएर जवाफ दिने होइन भन्नेमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।