भक्तपुर, जेठ १ । समस्याग्रस्त घोषित ओरेन्टेल को–अपरेटिभ लिमिटेडका ऋणीहरूको नाम सार्वजनिक गर्ने क्रममा ऋण चुक्ता गरिसकेका व्यक्तिको नाम समेत समावेश भएपछि विवाद उत्पन्न भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले वैशाख ३१ गते सार्वजनिक गरेको ऋणीहरूको तीन पुस्तेसहितको सूचीमा भक्तपुर सिपाडोल निवासी किरण थापा मगरको नाम समेत समावेश भएपछि उहाँले आपत्ति जनाउनुभएको हो ।
वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री समेत रहनु भएका थापाका अनुसार उहाँले ओरेन्टेल को–अपरेटिभसँग लिएको ऋण गत वर्ष नै पूर्ण रूपमा चुक्ता गरिसक्नुभएको थियो । ऋण चुक्ता भएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०८२ असोज २१ गते बैंक खाता फुकुवा गर्न परिपत्रसमेत गरिसकेको अवस्थामा फेरि ऋणीको सूचीमा नाम सार्वजनिक गरिएको भन्दै उहाँले गम्भीर आपत्ति व्यक्त गर्नुभएको छ ।
थापाले आफूले व्यक्तिगत प्रयोजनका लागि नभई एक जना सहयोगीलाई भक्तपुरमा कोल्डस्टोर सञ्चालन गर्न ऋण निकालिदिएको बताउनुभयो । ‘उहाँले नियमित ऋण तिरिरहेकै अवस्थामा दुर्घटनामा मृत्यु भयो,’ उहाँले भन्नुभयो, ‘पछि बाँकी रहेको करिब २४ हजार रुपैयाँ ऋण मैले नै तिरेर प्रक्रिया पूरा गरेको थिएँ, फुकुवाको पत्र दिएकै कार्यालयले फेरि नाम सार्वजनिक गर्दा हामीलाई बदनाम गर्ने प्रयास भएको महसुस भएको छ ।’
उहाँले यस विषयलाई तत्काल सच्याउन समितिसँग माग गर्नुभएको छ ।
घटना सार्वजनिक भएपछि सहकारी व्यवस्थापन समितिका कर्मचारीले भने ऋणीहरूको नाम सार्वजनिक गर्ने क्रममा भूलवश पुरानै सूची सार्वजनिक भएको प्रतिक्रिया दिएका छन् । कर्मचारीका अनुसार अद्यावधिक विवरण समावेश नगर्दा ऋण चुक्ता गरिसकेका केही व्यक्तिको नाम पनि सूचीमा परेको हो ।
यस घटनाले समस्याग्रस्त सहकारीहरूको विवरण सार्वजनिक गर्दा सम्बन्धित निकायले तथ्य र अभिलेखको शुद्धतामा ध्यान दिनुपर्ने प्रश्न उठाएको छ । विशेषगरी सार्वजनिक रूपमा नाम प्रकाशन गर्दा व्यक्तिको सामाजिक प्रतिष्ठा, आर्थिक विश्वसनीयता र पारिवारिक जीवनमा समेत असर पर्न सक्ने भएकाले यस्ता विषयमा राज्य संयन्त्र थप जिम्मेवार हुनुपर्ने आवाज उठ्न थालेको छ ।













प्रतिक्रिया दिनुहोस्