जनता टाइम्स

३ जेष्ठ २०८३, आईतवार १८:४७

हस्पिटलमा मृतकको कानबाट सुन गायब भएपछि


विराटनगर, जेठ ३ । विराटनगरको एक प्रतिष्ठित हस्पिटलमा एक जना मृतकको कानबाट सुन गायब पारिएको घटना सार्वजनिक भएको छ । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन गायब भएको हो ।

विष सेवनबाट गम्भीर रहेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारलाई आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए । उपचारका क्रममा आइतबार बिहान दनुवारको मृत्यु भएको हो।

उपचारका क्रममा उनको दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भएको पाइएको हो । आफन्तले कानको मुन्द्रा हराएको विषयमा प्रश्न गरेपछि सुरुमा अस्पताल प्रशासनले सुनको मुन्द्रा हराएको स्वीकार गर्न मानेको थिए । आफन्तले उपचारका क्रममा राखिएको अवस्थाको भिडियो देखाएपछि भने प्रशासन घटना स्वीकार गर्न बाध्य भयो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले लासबाट सुन चोरी भएको विषयमा सूचना आएपछि अनुसन्धान सुरु गरिएको जानकारी दिनुभएको छ । पीडित परिवारले खबर गरेपछि प्रहरीले सोधपुछ गरेको थियो ।

प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति मृतक परिवारलाई दिन तयार भएको छ । अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएको छ ।